प्रचण्डको ब्रिफिङ : बालेनको गतिविधि रहस्यमय देखियो
👤 सनस्टार संवाददाता |

प्रचण्डको ब्रिफिङ : बालेनको गतिविधि रहस्यमय देखियो
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको कार्यशैलीलाई लिएर तीव्र असन्तुष्टि जनाएका छन्।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सङ्घीय संसदीय दलको बैठकमा प्रचण्डले वर्तमान सरकारको ६ महिनाको समीक्षा गर्ने क्रममा प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन्।
बैठकमा उनले सरकारको पारदर्शिताको विषयमा प्रश्न उठाउनुका साथै संसद्प्रति जबाफदेही नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। नेकपाका प्रमुख सचेतक युवराज दुलालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री शाहको कार्यशैलीबारे बैठकमा ब्रिफिङ गरेको बताए।
‘उहाँ (प्रचण्ड)ले वर्तमान सरकार ठिक ढङ्गले अगाडि गएको छैन भन्नुभयो। ६ महिनामा सरकारले गरेका कामकारबाहीबारे समीक्षा गर्नुभयो। बालेनजी संसद्प्रति जबाफदेही हुनुहुन्न, पारदर्शी ढङ्गले पनि काम भइरहेको छैन, यसको रहस्य के होला भन्नुभएको थियो। तर, रास्वपाको आन्तरिक विषयमा भने केही बोल्नुभएन’, दुलालले भने।
बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका मुद्दाहरूमा पार्टीको भूमिका, कानुन निर्माणमा समितिहरूले निर्वाह गरेको भूमिकालगायत विषयमा समीक्षा भएको उनले बताए। दुलालका अनुसार आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण, आगामी स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा विस्तृत छलफल भएको छ।
बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा दलको तर्फबाट प्रभावकारी पहलका लागि भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, संसद् अधिवेशनको अन्त्यसँगै सांसदहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन्।
रुकुम (पश्चिम)बाट निर्वाचित सांसद गोपाल शर्माले प्रधानमन्त्री शाहले सत्तापक्षका सांसदहरूलाई नै बाइपास गरेर अगाडि बढेको विषयमा सामान्य छलफल भएको बताए। दुई तिहाइ नजिकको सरकार पनि पूरा कार्यकाल नजाने भनी प्रचण्डले उठाएको प्रसङ्गबारे सांसद शर्माले रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिचको अन्तर्विरोधलाई प्रमुख आधार मानिएको स्पष्ट पारे।
‘वर्तमान सरकारको कार्यशैलीलाई लिएर विपक्षी दलहरू मात्र होइन, सत्तापक्षका सांसदहरू पनि सन्तुष्ट देखिँदैनन्। रास्वपाका महामन्त्रीको अभिव्यक्तिले पनि अन्तर्विरोध गहिरिँदै गएको देखिन्छ’, शर्माले भने, ‘राष्ट्रियता, जनजीविकालगायत विषयमा बिस्तारै जनस्तरबाटै असन्तुष्टि बढ्दै गएको छ। यसैलाई मध्यनजर गर्दै उहाँ (प्रचण्ड)ले सरकारबारे समीक्षा गर्नुभएको हो।’
यद्यपि, रास्वपाभित्रको अन्तर्विरोध उनीहरूको आन्तरिक मामिला भएकाले सभापति रविसँग नजिक वा प्रधानमन्त्री बालेन्द्रसँग टाढाको सम्बन्ध राख्ने पार्टीको नीति नभएको शर्माको भनाइ छ। प्रधानमन्त्री शाहलाई एक्लाउने विषयमा सभापति लामिछानेसँग भित्रभित्रै कुनै साँठगाँठ छ कि भन्ने आशङ्का निराधार भएको उनले स्पष्ट पारे।
‘रविजीसँग मिलेर सरकारलाई असहयोग गर्ने भित्रभित्रै षड्यन्त्र भइरहेको छ कि भन्ने कुरामा कुनै सत्यता छैन। रवि र बालेनबिचको सम्बन्धको विषय उनीहरूको आन्तरिक मामिला हो’, शर्माले भने, ‘तर जसरी प्रधानमन्त्री पार्टीभित्रै एक पक्षलाई बाइपास गरेर अगाडि बढिरहेका छन्, त्यसले अन्ततः दुर्घटना निम्त्याउँछ भन्ने हाम्रो बुझाइ हो। नेपालमा कुनै पनि सरकार पूरा कार्यकाल चल्न सकेको छैन। २०४८ यताकै घटनाक्रम हेर्दा पनि छर्लङ्ग देखिन्छ।’
यता सुरुवाती चरणमा बालेन सरकारप्रति सकारात्मक देखिएका प्रचण्ड पछिल्लो समय आक्रामक देखिएका छन्। उनले पार्टीको आन्तरिक बैठक र प्रशिक्षणमा होस् या सार्वजनिक तथा संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा, सरकारको कार्यशैलीलाई लिएर निरन्तर आलोचना गरिरहेका छन्। दलको बैठकबाट बाहिरिने क्रममा पनि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सरकारको ६ महिना ठिक ढङ्गले अगाडि बढ्न नसकेको बताएका थिए।
‘हामीले सरकारको राम्रो कामको समर्थन गर्छौँ, नराम्रो कामको आलोचना गर्छौँ भनेका छौँ। सरकारले ६ महिनामा केही पनि राम्रो काम गरेन भन्ने पक्षमा हामी छैनौँ। तर, समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइरहेको छैन’, प्रचण्डले भनेका थिए।