प्रचारप्रसारका लागि मैत्रीपूर्ण फुटसल सम्पन्न
👤 सनस्टार संवाददाता |

प्रचारप्रसारका लागि मैत्रीपूर्ण फुटसल सम्पन्न
२०८३ असोज १८ , पोखरा ।
यही असोज २४ र २५ गते पोखरा–२५ हेम्जामा आयोजना हुन लागेको प्रथम सूर्य कप ‘६ ए’ साइड फुटबल प्रतियोगिता–२०८३ को प्रचारप्रसार तथा तयारीलाई लक्षित गर्दै मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल खेलकुद महासंघ कास्कीको आयोजनामा पोखरा–२७ स्थित काइट्स स्पोर्ट्समा भएको मैत्रीपूर्ण फुटसलमा नेपाल खेलकुद महासंघ कास्की, नेपाल उद्योग तथा व्यापार महासंघ, नेकपा एमाले कास्की र नेकपा एमाले पोखरा महानगर कमिटीका टोली सहभागी भएका थिए।
खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य र सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण खेलमा स्थानीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको समेत उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नवराज ओझा, नेकपा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्ष भेषराज बराल तथा नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।
उपस्थित नेताहरूले खेलकुद प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मैत्रीपूर्ण फुटसलले आगामी प्रथम सूर्य कप ६ ए साइड फुटबल प्रतियोगिताको प्रचारप्रसारसँगै प्रतियोगिताप्रति खेलाडी, युवा तथा खेलप्रेमीहरूमा उत्साह बढाएको आयोजकले जनाएको छ।
प्रतियोगिता २०८३ असोज २४ र २५ गते पोखरा–२५, हेम्जामा आयोजना हुँदैछ। आयोजकका अनुसार प्रतियोगिताको विजेताले रु. ३३ हजार ३ सय ३३ तथा उपविजेताले रु. २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन्।