प्रथम सूर्य कप फुटबलको खेलतालिका सार्वजनिक, उद्घाटन खगराज अधिकारीले गर्ने
👤 सनस्टार संवाददाता |

प्रथम सूर्य कप फुटबलको खेलतालिका सार्वजनिक, उद्घाटन खगराज अधिकारीले गर्ने
२०८३ असोज २३ पोखरा ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा हुने प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ को खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका सचिव खगराज अधिकारीले गर्ने आयोजकले जनाएको छ।
पोखरा–२५, हेम्जास्थित आरएस फुटबल खेलमैदानमा असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रिटर्नी फेडेरेशन नेपाल र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा विभिन्न क्षेत्र तथा संस्थाको प्रतिनिधित्व गर्दै १६ टोली सहभागी हुनेछन्। प्रतियोगिताका लागि सहभागी टोलीको प्रवेश शुल्क तीन हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगिताको विजेताले नगद ३३ हजार ३३३ रुपैयाँ र उपविजेताले २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
खेलकुदमार्फत पार्टीका नेता तथा कार्यकर्ताबीच भावनात्मक एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा फुटबललाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले खेलकुद संस्कृतिको विकाससँगै विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।