फ्लाईदुबई उडान घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी
👤 सनस्टार संवाददाता |

**१६ असोज २०८३, शुक्रबार**
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाईदुबईको विमानमा भएको घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको र दोषी पाइएमा इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने बताएका हुन्।
घटनाका क्रममा फ्लाईदुबईको विमानका सह–पाइलटले भारतीय नागरिक कप्तान स्मिट मच्छरमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि संघर्ष भएको थियो। यात्रुहरूको सहयोगमा सह–पाइलटलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा आपतकालीन अवतरण गराइएको थियो। त्यसपछि यात्रुलाई अर्को उडानमार्फत इजरायल पठाइएको जनाइएको छ।
साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको र विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाएका छन्।
युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। नेतान्याहुले सह–पाइलट ओमानी नागरिक रहेको उल्लेख गर्दै इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा समेत छानबिन आवश्यक रहेको बताएका छन्।
फ्लाइटराडार २४ का अनुसार घटनाका क्रममा विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो। आक्रमणमा घाइते भएका कप्तान मच्छरको स्वास्थ्य अवस्था राम्रो रहेको भारतीय दूतावासले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्।
फ्लाईदुबईले चालकदलका अर्का सदस्यले विमानलाई सुरक्षित रूपमा अवतरण गराएको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले कम्पनीले इजरायलका लागि आफ्ना उडानहरू स्थगित गरेको जनाएको छ।
यसैबीच, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला ट्रम्पको उक्त चेतावनी आएको हो। ‘एक्सियोस’का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ। साथै, यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ अघि बढिरहेको जनाइएको छ।
घटनामा यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन र विमानलाई सुरक्षित अवतरण गराउन सहयोग गरेको भन्दै इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताएका छन्।
घटनाबारे विभिन्न पक्षबाट अनुसन्धान जारी रहेकाले विमानमा भएको आक्रमणको उद्देश्य, सम्भावित आतङ्कवादी संलग्नता तथा इरानसँगको सम्बन्धबारे थप तथ्य अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।