बहुविवाह प्रकरणमा कारबाहीको चर्चा बढेपछि लेखराज भट्ट एमाले छाड्ने मनस्थितिमा?
👤 सनस्टार संवाददाता |

बहुविवाह प्रकरणमा कारबाहीको चर्चा बढेपछि लेखराज भट्ट एमाले छाड्ने मनस्थितिमा
काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट सग जोडिएको बहुविवाहसम्बन्धी प्रकरणलाई लिएर पार्टीभित्र कारबाहीको चर्चा चलेसँगै उनको आगामी राजनीतिक कदमबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।
पार्टीबाट कारबाही हुन सक्ने अवस्था बनेमा भट्टले पार्टी मा अध्यक्षले अनावश्यक तल्लो कमिटी सम्म हस्तक्षेपको काम गरेको र आफु त्यसको सिकार भएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि थोपर्ने र एमाले छोडेको घोषणा गर्ने धारणा बनाएको चर्चा एमाले वृत्तमा चलेको छ। यद्यपि, भट्टले एमाले छाड्ने निर्णय गरेको वा औपचारिक रूपमा त्यस्तो घोषणा गरेको पुष्टि भने भएको छैन।
पछिल्लो समय एमालेभित्र नेतृत्व, पार्टी पुनर्गठन र आन्तरिक अनुशासनका विषयमा बहस तीव्र भइरहेका बेला भट्ट स्वयं पनि पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा सक्रिय छन्। भदौ–असोजमा भएका पार्टी बैठकमा उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
भट्ट यसअघि एमाले अध्यक्ष ओलीनिकट नेताका रूपमा चिनिँदै आएका थिए। तर पछिल्लो समय पार्टीभित्र नेतृत्व र पुनर्गठनसम्बन्धी बहस चर्किँदा उनी कतिपय विषयमा तुलनात्मक रूपमा फरक धारणा राख्ने नेताका रूपमा पनि चर्चामा आएका छन्।