मेसी बने स्पेनिस क्लब एल्डेन्सका मालिक काठमाडौँ १६ आश्विन २०८३ अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडी एल्डेन्सको स्वामित्व खरिद गरेका छन्। मेसीले सन् २०२६ मा स्पेनिस फुटबलमा क्लबको स्वामित्व लिएको यो उनको दोस्रो क्लब हो। यसअघि उनले अप्रिलमा बार्सिलोनास्थित यूई कोर्नेलाको स्वामित्व खरिद गरेका थिए। मेसीले गत महिना कोलम्बियाली लगानी समूहसँग एल्डेन्सका सम्पूर्ण सेयर खरिद गर्ने सम्झौता गरेका थिए। उक्त समूह क्लबको बहुमत सेयरधनी थियो। क्लबले मेसीको स्वामित्वमा आएको आधिकारिक घोषणा गरेको हो। यद्यपि, कारोबारका लागि स्पेनको उच्च खेलकुद परिषद् (सीएसडी) को आवश्यक स्वीकृति लिन बाँकी छ। सन् १९२१ मा स्थापना भएको एल्डेन्सले मेसीको आगमनसँगै दीर्घकालीन परियोजनामार्फत क्लबको खेलकुद, संस्थागत तथा सामाजिक विकासलाई अघि बढाउने लक्ष्य राखेको जनाएको छ। क्लबले व्यावसायिक फुटबलमा आफ्नो स्थान बलियो बनाउँदै इतिहास र पहिचानलाई कायम राख्ने उद्देश्यसमेत राखेको छ। हाल एल्डेन्सको प्रदर्शन भने सन्तोषजनक छैन। स्पेनको दोस्रो डिभिजनमा सात खेलमध्ये चारमा हार बेहोरेको क्लब तालिकाको १९औँ स्थानमा छ। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको एल्डेन्सले मेसीको स्वामित्वपछि क्लबको प्रदर्शन र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरेको छ।