**२०८३ असोज २३ गते, शुक्रबार** **भक्तपुर** । रिटर्नी फेडेरेसन नेपाल भक्तपुर जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनले क. सुनिल तजको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा क. अजिता ठकुरी र क. सुमनराज अर्याल तथा सचिवमा क. गणेश दाहाल निर्वाचित भएका छन्। अधिवेशनले अन्य पदाधिकारी तथा सदस्यहरूलाई समेत सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित नेतृत्वमाथी संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउँदै वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशमै सदुपयोग गर्ने अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी थपिएको छ। विदेशमा श्रम, पसिना र अनुभव सँगालेर स्वदेश फर्किएका नागरिकको क्षमता राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार बन्न सक्छ। उनीहरूको सीपलाई उद्यमशीलता, स्वरोजगार, लगानी तथा रोजगारी सिर्जनासँग जोड्न सके आर्थिक समृद्धिको यात्रामा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ। रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकको आर्थिक तथा सामाजिक पुनःएकीकरण, उद्यमशीलताको प्रवर्द्धन र रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्दै आएको छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकाससँग जोड्नु संगठनको महत्त्वपूर्ण उद्देश्यका रूपमा रहेको छ। भक्तपुर जिल्ला कमिटीको नयाँ नेतृत्वले संगठनको उद्देश्यलाई व्यवहारमा उतार्दै रिटर्नीहरूका समस्या, सम्भावना र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा काम गर्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई व्यक्त गर्दै सफल, उपलब्धिमूलक र उदाहरणीय कार्यकालको शुभकामना व्यक्त गरिएको छ।