**१८ असोज २०८३** **पोखरा** । रिटर्नी फेडेरेसन नेपाल पोखरा महानगर कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इन्द्र प्रसाद सुवेदी, सचिवमा बलराम सापकोटा र उपसचिवमा जगतबहादुर वि क चयन हुनुभएको छ। रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव विष्णुहरि भुगाईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा फेडेरेसनका केन्द्रीय सचिवालय सदस्य विश्वज्योति सुवेदी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव विष्णुहरि भुगाईले विदेशमा रहेर रिटर्नीहरूले भोगेका अनुभव, हासिल गरेका ज्ञान, सिकेका सीप तथा सिर्जनात्मक क्षमतालाई पार्टी र संगठनले उचित रूपमा सदुपयोग गर्न सके नेकपा एमालेले जनताको मन जित्न थप प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले विदेशबाट फर्किएका नेपालीहरूको अनुभव र दक्षतालाई व्यक्तिगत रोजगारी तथा व्यवसायमा मात्र सीमित नराखी देश निर्माणको अभियानसँग जोड्नुपर्नेमा जोड दिनुभयो। रिटर्नीहरूको क्षमता पहिचान गरी उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा परिचालन गर्न सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो। त्यसैगरी विशेष अतिथि विश्वज्योति सुवेदीले रिटर्नीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभयो। विदेशमा आर्जन गरेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्ने वातावरण निर्माण गर्न संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य दिनेश आचार्य तथा नेकपा एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष नरेन्द्रनाथ ढुंगानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। रिटर्नी फेडेरेसन नेपाल पोखरा महानगर कमिटीका उपाध्यक्ष इन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन प्रसाद पौडेलले गर्नुभएको थियो।