शिबराज सुवेदी , पोखरा । सात तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रको काखमा रहेको रुपा गाउँपालिका पर्यटकीय दृष्टिले कास्की जिल्लाकै सबैभन्दा सम्भावना बोकेको पालिका हो। तर पोखराको फेवा र बेगनासको छायाँमा परेको रुपा अझै पनि आन्तरिक पर्यटकका लागि ‘एक दिने घुमघाम’ र बाह्य पर्यटकका लागि ‘नदेखिएको गन्तव्य’ झै बनेको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘Lake to Lake’ अभियान र रुपा तालमा ग्लास ब्रिज निर्माणको प्रस्ताव अघि सारेपछि रुपाको पर्यटन विकासले फेरि चर्चा पाएको छ।जस्लाइ हामी सबैको तर्फबाट पहल गर्न सकेमा रुपाको बिकासमा टेवा पुग्न सक्छ । रुपा गाउँपालिका साबिकका थुम्की, सिद्ध, देउराली, रुपाकोट र हंसपुर गाविस मिलेर बनेको हो। ९४.८१ वर्ग किमिमा फैलिएको, ७ वटा वडा रहेको यो पालिका तनहुँ, लमजुङ, मादी र पोखरा महानगरपालिकासँग जोडिएको छ। रुपाकोट रिसोर्ट र कोट मन्दिरबाट देखिने दृश्यको बारेमा समेत प्रचार हुन सकेको छैन । माझकोट र चिसापानीमा अझै ब्यबस्थित होम स्टेहरु सन्चालन गरि सास्कृतिक कार्यक्रम गर्न सकेमा अझै पर्यटन बिकासमा सघाउ पुग्न सक्छ । रामसार सूचीमा सूचीकृत, जलाधार क्षेत्र ३० वर्ग किमि ३६ प्रजातिका जलचर पंक्षी, १३४ प्रकारका वन्यजन्तु तथा चराचुरुङ्गी, ३६१ प्रजातिका वनस्पति र १७५ प्रजातिका जडिबुटी - शान्त वातावरण, कम भीड, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको प्रतिविम्बले समेत सबैको ध्यान केन्द्रित गर्न सकिने प्रकृति रहेको छ । तालको व्यवस्थापन , रुपा ताल पुनर्स्थापना तथा मत्स्य सहकारी संस्थाले गर्दै आएको छ। यसले माछापालन, जैविक विविधता संरक्षण र इको-टुरिजमलाई एकसाथ जोडेको नेपालकै नमूना परियोजना मानिन्छ। २६९ मिटर लामो तालमाथिको झोलुङ्गे पुल , पोखरा-३१ र रुपा-६ जोड्ने यो पुल अहिले टिकटक र फोटोसेसनको हटस्पट बनेको छ। ताल किनारको जंगलमा चितुवा, नीलगाई, चित्तल, अजिङ्गर, सेतो गिद्ध अवलोकन गर्न सकिन्छ। बेगनास मत्स्य अनुसन्धान केन्द्रको सफलतापछि रुपा तालमा पनि मोती खेतीको परीक्षण सुरु भएको छ। रुपाको पर्यटनलाई दिगो बनाउन केवल ताल हेरेर पुग्दैन। स्थानीय विज्ञ र गाउँपालिकाको योजनालाई केलाउँदा यस्ता रणनीति देखिन्छन्: डुङ्गा व्यवसायलाई व्यवस्थित गर्ने, फुट ट्रयाक निर्माणलाई तिव्रता दिने, पक्षी अवलोकन टावर र बर्ड-हाइड बनाउने, तालमा जम्मा भएको जलकुम्भी र माटोको सतह (Siltation) नियन्त्रण गर्ने कार्यमा अझै तिब्रता दिनुपर्ने देखिन्छ । चिसापानी डाँडा, स्याक्लुङकोट, माझकोट, कालिका डाँडा रुपाका भ्यु प्वाइन्ट हुन्। यहाँबाट ७-८ जिल्ला र धौलागिरीसम्म देखिन्छ। यी डाँडामा व्यवस्थित होमस्टे, रोयल ट्रेकको स्तरोन्नति, सूर्योदय अवलोकन केन्द्र बनाउन सकिन्छ। गण्डकी प्रदेशले होमस्टे अपग्रेड कार्यक्रम घोषणा गरिसकेको छ। रुपामा गुरुङ, मगर, नेवार, ब्राह्मण, कुमाल, मुस्लिम र दलित समुदायको संगम हो। जातीय संग्रहालय, ढोडबेशीको खुदो जस्ता परम्परागत खानाको प्रवर्द्धन, कोदो, धान र आलुको अर्गानिक फार्म भ्रमण गराउँदा पर्यटकको बसाई लम्बिन्छ गाउँपालिकाले अघि सारेको फालभञ्ज्याङ देखि थुम्की पेलुङ्गासम्म जिपलाइन र रुपा ताल देखि रुपाकोटसम्म केबलकारको सम्भाव्यता अध्ययन गर्ने योजनालाई तत्काल अघि सार्नु पर्छ र साख्रेखोलामा ड्याम बनाइ कृतिम ताल बनाइ जलविद्युत उत्पादन गर्न सकेमा समग्र क्षेत्रको उन्नती हुन सक्छ । बुढा महादेव मन्दिर, चिसापानी देवी मन्दिर र इन्द्र गुफालाई एकीकृत धार्मिक सर्किटमा जोड्न सकिन्छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको पर्यटन तथा उद्योग कार्यालयले रुपा-१ को जल्केनी-भैरकोट-कालिका-रिठ्ठुमाडा पदमार्ग लगायत ४३ वटा पर्यटन पूर्वाधार सम्पन्न गरेको छ। अब बेगनास-रुपा जोड्ने सडकलाई पूर्ण कालोपत्रे र विद्युतीय डुङ्गा (E-Boating) लाई प्रवर्द्धन गर्नुपर्ने माग स्थानियको रहेको छ । पहिले घरदेश, अनि परदेश’ र ‘Lake to Lake’ अभियानलाई रुपाले उपयोग गर्नुपर्छ। पोखरा आउने पर्यटकलाई ३० मिनेटको दुरीमा रहेको शान्त रुपा तालसम्म ल्याउन पोखरा महानगरसँग संयुक्त टिकट र प्याकेज बनाउनु आवश्यक देखिन्छ। सम्भावना संगै थुप्रै चुनौतिहरुले बिकासक्रम लाई सकस बनाएको देखिन्छ । तत्कालीन अध्ययनहरूले औंल्याए अनुसार आर्थिक चुहावट (Economic Leakage) ठूलो समस्या छ। पर्यटन सेवा बढे पनि रोजगारी परिवारमै सीमित छ। ताल अतिक्रमण, कृषि रसायनको बगाव र सडक-होटल-इन्टरनेटको कमजोर पूर्वाधारले पनि लगानी रोकिएको छ। स्थानीय पर्यटन व्यवसायी भन्छन्, "आयोजना अन्तर्गतका फुट ट्रयाक र प्राणी उद्यानका काम सकिएपछि रुपाको रुप नै फेरिन्छ। तर संरक्षण बिना विकास सम्भव छैन।" रुपाको पर्यटन विकास भनेको केवल एउटा तालको विकास होइन। यो ताल, डाँडा, संस्कृति, कृषि र समुदायलाई जोड्ने एकीकृत मोडल हुनुपर्छ। पोखराको विकल्प होइन, पोखराको शान्त विस्तारको रुपमा रुपालाई ब्रान्डिङ गर्न सके रुपा गाउँपालिका समृद्धिको यात्रामा साँच्चै अगाडि जानेछ। धेरै काम सम्पन्न भएका छन । अब शिवचन्डी मोटर बाटो र रुपा रिङ्ग रोड समय मै बन्न सकेमा अझ रुपा ब्यबस्थित हुनेछ । माउडाडा मोटर बाटो भर्खर सिलन्यास भएको छ । तर ७ वटै वडाको तुलनामा रुपा २ का भित्री बाटो सहित वृद्धि टार जाने बाटो , राम बजार देखि तल शिवचन्डी जोडिने बाटो र चिस्यान केन्द्रको बिजोग अबस्थाले रुपा २ का जनतामा खासै उत्साह देझिदैन ।