संविधान दिवसको अवसरमा पोखरा–१९ मा खुल्ला रक्तदान, ४६ युनिट रगत संकलन
👤 प्रदेश संवाददाता | 📅 2026-09-20

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१९ उपशाखा र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरञ्चौरको संयुक्त आयोजनामा सम्पन्न पाँचौँ खुल्ला रक्तदान कार्यक्रमबाट ४६ युनिट रगत संकलन भएको छ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा पहिलोपटक रक्तदान गर्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता रविन चौलागाईंलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खड्काले मानव जीवनलाई स्वस्थ र तन्दुरुस्त राख्न नियमित रक्तदान आवश्यक रहेको बताइन्। उनले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उद्धार तथा राहत वितरणमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।
नेपाल रेडक्रस सोसाइटी पोखरा–१९ उपशाखाका सभापति रमेश विश्वकर्माले उपशाखाले गर्दै आएका मानवीय सेवाका गतिविधिबारे जानकारी दिँदै जिल्ला शाखासँग समन्वय गरी सेवामूलक कार्यलाई निरन्तरता दिइरहेको बताए।
कार्यक्रममा जिल्ला उपसभापति रमा कोइराला, विपद् व्यवस्थापन संयोजक सविन जिसी, जिल्ला सदस्य नवराज पौडेल, प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रशासनिक अधिकृत दीपेन्द्र पौडेल, पोखरा–१९ का वडा सदस्य विकासकुमार आचार्य तथा कार्यक्रम संयोजक श्यामसुन्दर आचार्यलगायतले रक्तदानको महत्व र मानवीय सेवाका विविध पक्षबारे धारणा राखेका थिए।
उपशाखा सभापति रमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति लक्ष्मी अधिकारीले स्वागत मन्तव्य र सचिव माधव गौतमले सञ्चालन गरेका थिए।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्तसञ्चार केन्द्रले गरेको थियो भने एम्बुलेन्स सहयोग नवआदर्श सामुदायिक विकास समाजले गरेको आयोजकले जनाएको छ।