सरकार अधिनायकवादतर्फ उन्मुख भएको शंकर पोखरेलको आरोप
👤 सनस्टार संवाददाता |

सरकार अधिनायकवादतर्फ उन्मुख भएको शंकर पोखरेलको आरोप
२०८३ असोज १९
काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँग संवाद नगर्ने वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गरेको संसद्लाई नै नचिनेको टिप्पणी गर्नुभयो। उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक हुने बताउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो।
पोखरेलले लोकतन्त्रको संरक्षणका लागि वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच पुनः एकता र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “राजनीतिक दलसँग संवाद नगर्ने सरकार अधिनायकवादतर्फ हिँड्दैछ। प्रधानमन्त्रीले आफूलाई निर्वाचित गरेको संसद् चिन्नुहुन्न।”
लोकतान्त्रिक मूल्य, संविधान र राजनीतिक प्रणालीको रक्षाका लागि सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा पोखरेलले जोड दिनुभयो।
कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले पछिल्लो राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच संवाद, सहकार्य र एकताको आवश्यकता रहेको बताउनुभएको हो।