हाम्रो संकल्प : समृद्ध, स्वच्छ र व्यवस्थित पोखरा १४ कार्तिक २०८३ , पोखरा आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, पोखरा केवल एउटा सहर होइन; यो नेपालको पर्यटन, प्राकृतिक सम्पदा, संस्कृति र सम्भावनाको प्रतीक हो। तर पोखराको वास्तविक समृद्धि सुन्दर दृश्यमा मात्र सीमित हुनु हुँदैन। यहाँका नागरिकले सहज सेवा पाउनुपर्छ, युवाले आफ्नै सहरमा रोजगारीको अवसर भेट्नुपर्छ, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ र प्रत्येक वडाले समान विकासको अनुभूति गर्नुपर्छ। हाम्रो प्राथमिकता स्पष्ट हुनुपर्छ—सुन्दर पोखरा सुविधायुक्त पोखरा; पर्यटकीय पोखरा रोजगारी दिने पोखरा; विकसित केन्द्र सबै वडामा सन्तुलित विकास भएको पोखरा। सडक, ढल, खानेपानी, सार्वजनिक यातायात र पार्किङको समस्यालाई योजनाबद्ध रूपमा समाधान गर्नुपर्छ। सडक निर्माण गर्दा नाली, फुटपाथ र पानी निकासलाई सँगसँगै अघि बढाउनुपर्छ। पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन फेवाताल र लेकसाइडमा मात्र पर्यटन केन्द्रित नराखी बेगनास, रूपाताल, ग्रामीण बस्ती, पदयात्रा मार्ग र साहसिक खेलका सम्भावनालाई जोड्नुपर्छ। पर्यटकको आगमनसँगै स्थानीय व्यवसायी, होटल व्यवसायी, कृषक, यातायात व्यवसायी र युवाले पनि आर्थिक लाभ पाउने वातावरण बनाउनुपर्छ। युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ। सीपमूलक तालिम, स्थानीय उत्पादन, पर्यटन, प्रविधि र खेलकुदलाई रोजगारीसँग जोड्नुपर्छ। युवाले अवसर खोज्न सहर र देश छोड्नुपर्ने बाध्यता घटाउन स्थानीय अर्थतन्त्र बलियो बनाउन सक्नु पर्दछ । फोहोर व्यवस्थापन, ताल संरक्षण र वातावरणीय स्वच्छतालाई महानगरको प्रमुख जिम्मेवारीका रूपमा लिनुपर्छ। सफा सहर बनाउन नागरिकको सहभागिता र महानगरको प्रभावकारी व्यवस्थापन दुवै आवश्यक छन्। शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सुरक्षामा नागरिकको पहुँच विस्तार गर्नुपर्छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य सेवाको प्रभावकारिता र युवाका लागि खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता राख्नु आजको मुल मन्त्र बन्नु पर्दछ। सुशासनलाई व्यवहारमा उतार्नु , महानगरको बजेट कहाँ खर्च भयो, कुन आयोजना कति समयमा सम्पन्न हुन्छ र त्यसबाट नागरिकले के लाभ पाउँछन् भन्ने विवरण सार्वजनिक हुनुपर्छ। जनप्रतिनिधि जनताभन्दा माथि होइनन्; उनीहरू जनताप्रति जवाफदेही हुनुपर्छ। हाम्रो विकासको मापदण्ड भवन र सडकको संख्या मात्र हुनु हुँदैन। नागरिकको जीवन कति सहज भयो, रोजगारी कति सिर्जना भयो, सार्वजनिक सेवा कति प्रभावकारी बन्यो र वातावरण कति सुरक्षित रह्यो भन्ने आधारमा विकास मापन गर्नुपर्छ। आउनुहोस्, पोखराको भविष्यलाई नारामा होइन, योजनामा; आश्वासनमा होइन, परिणाममा र सीमित क्षेत्रको विकासमा होइन, सम्पूर्ण महानगरको सन्तुलित समृद्धिमा केन्द्रित गरौँ। आउनुहोस - स्वच्छ पोखरा, सुरक्षित पोखरा, रोजगारमूलक पोखरा र सबै नागरिकको साझा पोखरा बनाउ