समाचार

२६ वर्षमै व्यवसायदेखि कांग्रेसको केन्द्रीय राजनीतितर्फ चिन्तामणी रेग्मी

👤 सनस्टार संवाददाता  |  📅 2026-09-26
२६ वर्षमै व्यवसायदेखि कांग्रेसको केन्द्रीय राजनीतितर्फ चिन्तामणी रेग्मी
२६ वर्षमै व्यवसायदेखि कांग्रेसको केन्द्रीय राजनीतितर्फ चिन्तामणी रेग्मी स्याङ्जा–१ बाट ३५ वर्षमुनिको युवा कोटामा खुला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार । २०८३ असोज १० स्याङ्जा २६ वर्षीय युवा व्यवसायी चिन्तामणी रेग्मी ‘विक्रम’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं. १ बाट ३५ वर्षमुनिका युवाको कोटाअन्तर्गत खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। युवा उमेरमै व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका रेग्मीले व्यवसायबाट प्राप्त अनुभवलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा उपयोग गर्ने उद्देश्यसहित कांग्रेसको केन्द्रीय प्रतिनिधित्वका लागि अघि बढेको बताएका छन्। रेग्मीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा स्याङ्जाका नागरिकको आवाज, आवश्यकता र अपेक्षालाई केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्। युवा सहभागिता बढाउने एजेन्डा पछिल्लो समय युवापुस्तामा राजनीति र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै रेग्मीले युवालाई आलोचकका रूपमा मात्र नभई निर्णय प्रक्रियाका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन्। “युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन्,” उनको भनाइ छ। उनले युवालाई राजनीतिसँग जोड्न राजनीतिक चेतना, अवसर र नेतृत्वमा सहभागिताको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। स्याङ्जाका ९७ वटै वडाको आवाज केन्द्रसम्म पुर्‍याउने दाबी राजनीतिक तथा प्रशासनिक क्षेत्रमा रहँदा स्याङ्जाका विभिन्न भूगोल र समुदायसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त गरेको उल्लेख गर्दै रेग्मीले जिल्लाका ९७ वटै वडाका स्थानीय समस्या, आवश्यकता र सम्भावनाबारे आफू जानकार रहेको बताएका छन्। निर्वाचित भएमा स्याङ्जाको विकास, संगठन सुदृढीकरण, युवा सहभागिता, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारका विषयलाई केन्द्रीय तहमा प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता छ। ‘मतभन्दा विश्वास र जिम्मेवारी मागेको हुँ’ रेग्मीले आफू केवल मत माग्न नभई विश्वास र जिम्मेवारी माग्न उम्मेदवार बनेको बताएका छन्। “तपाईंहरूको प्रतिनिधि भएर, तपाईंहरूकै आवाज बोकेर स्याङ्जाको पक्षमा स्पष्ट र जिम्मेवार ढंगले उभिनेछु,” उनले भनेका छन्। २६ वर्षीय रेग्मीको उम्मेदवारीले कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व, उद्यमशीलता र राजनीतिक सहभागिताको मुद्दालाई समेत बहसमा ल्याएको छ।